बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड स्याटेलाइट इन्टरनेट सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिकी सरकार र एलन मस्कसँग आग्रह गरेका छन् । प्रतिबन्धका कारण रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको उनको भनाइ छ ।
जेलेन्स्कीले जाडोयामअघि नागरिकको जीवन र देशको ऊर्जा पूर्वाधारको सुरक्षा स्टारसिल्ड सेवाको प्रभावकारी सञ्चालनमा निर्भर रहेको बताएका छन् ।
उनले अमेरिकी सरकार र मस्कको कम्पनीसँग समन्वय गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै प्रतिबन्ध हटाइने अपेक्षा व्यक्त गरेका छन् । ‘इतिहासको सही पक्षमा उभिनु महत्त्वपूर्ण छ,’ उनले भनेका छन् ।
एलन मस्कको स्वामित्वमा रहेको स्टारसिल्ड सैन्य प्रयोजनका लागि विकसित स्याटेलाइट इन्टरनेट सेवा हो । अमेरिकी सरकारले युक्रेनलाई उपलब्ध गराएको यो सेवा रुसी क्षेप्यास्त्र र ड्रोनलाई रोक्ने अभियानमा प्रयोग हुँदै आएको छ । युक्रेनले युद्धमैदानमा सञ्चारका लागि भने सामान्य स्टारलिंक सेवा प्रयोग गर्दै आएको छ ।
स्टारसिल्डको गति सीमित गरिएको विषय अक्टोबरदेखि विवादमा छ । यस विषयमा मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फरक धारणा सार्वजनिक भएका थिए । मस्कले स्टारसिल्ड अमेरिकी सरकारको नियन्त्रणमा रहेकाले प्रतिबन्धको जिम्मेवारी उसकै भएको बताएका थिए । तर, ट्रम्पले आफू जिम्मेवार नरहेको दाबी गर्दै मस्कलाई सेवा पूर्ववत् अवस्थामा फर्काउन निर्देशन दिएको बताएका थिए ।
एक सातापछि सेवा सामान्य अवस्थामा फर्किएको देखिए पनि युक्रेनले प्रतिबन्ध अझै कायम रहेको जनाएको छ । जेलेन्स्कीका अनुसार अग्रपङ्क्ति र रुसी कब्जामा रहेका क्षेत्रमा स्टारसिल्ड टर्मिनलको सञ्चालन गतिमा लगाइएको प्रतिबन्धका कारण युक्रेनी इन्टरसेप्टर ड्रोनले रुसी जेट इन्जिनयुक्त ड्रोनलाई रोक्न कठिनाइ भोगिरहेका छन् ।
उनले प्रतिघण्टा १६१ किलोमिटर (१०० माइल) भन्दा बढी गतिमा उड्दा इन्टरसेप्टर ड्रोनको सञ्चालकसँगको सम्पर्क विच्छेद हुने गरेको बताएका छन् । त्यसले इरानी डिजाइनमा आधारित रुसी ‘शाहेद’ ड्रोनलाई पछ्याएर नष्ट गर्न समस्या भएको उनको भनाइ छ ।
शुक्रबार जेलेन्स्कीले सोमबारदेखि नेटवर्कमा प्रतिघण्टा करिब १०० माइलको गति सीमा लागू गरिएको बताएका थिए । उनका अनुसार प्रतिबन्ध युक्रेनभर नभई रुसी कब्जामा रहेका क्षेत्रमा मात्रै लागू गरिएको छ ।
यस विषयले राजनीतिक अर्थसमेत राख्ने जेलेन्स्कीको भनाइ छ । न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले कब्जामा रहेका क्षेत्रमा प्रतिबन्ध लगाउनु ती भूभाग युक्रेनका होइनन् भन्ने अवस्थालाई आंशिक रूपमा स्वीकार गर्नुजस्तै भएको टिप्पणी गरेका थिए ।
यसअघि युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणलाई लिएर जेलेन्स्की र ट्रम्पबीच कूटनीतिक तनाव बढेको थियो । ट्रम्पले ती आक्रमणका कारण विश्व बजारमा तेलको मूल्य बढेको आरोप लगाएका थिए । युक्रेनले भने रुसी युद्ध अभियानको मुख्य आम्दानीको स्रोत कमजोर बनाउन त्यस्ता केन्द्रलाई निशाना बनाउँदै आएको बताएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij