२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुस लिएको अभियोग

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुस लिएको अभियोग

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ। पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो।

मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन्।

सन् २०२२ मा पोलिटब्युरो सदस्य बनेका माविरुद्धको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो। त्यतिबेला उनीमाथि पार्टी अनुशासन र राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो। उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीमा पर्ने पछिल्लो वरिष्ठ अधिकारी हुन्।

गत साता सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो। बैठकले मासहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो। निष्कासित हुनेमा यसै वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरल पनि छन्।

पोलिटब्युरोमा २४ सदस्य रहेकामा पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन्। विश्लेषकहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ।

मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिस्ट पार्टी प्रमुख थिए। त्यसअघि उनले हङकङसँग सीमा जोडिएको चीनको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरका रूपमा काम गरेका थिए। चिनियाँ शासन प्रणालीमा प्रान्तीय गभर्नरभन्दा कम्युनिस्ट पार्टी प्रमुखको पद शक्तिशाली मानिन्छ। पेसाले इन्जिनियर रहेका माले स्थानीय सरकारमा प्रवेश गर्नुअघि एयरोस्पेस उद्योगमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij