काठमाडौँ । आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ । सरित रायनको संगीत र कम्पोज रहेको गीतमा राम अबिरल विष्टको शब्द रचना तथा रोहित सोनार र मेलिना राईको स्वर सुन्न सकिन्छ ।
गीतमा सिनेमाका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर प्रस्तुत छन् । गीत प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ । भिडियोमा सोनम र उपासना सिंहको जोडी निकै सुहाएको छ भने अन्य कलाकारहरूको पहिरन र अनुहारको हाउभाउ स्वाभाविक देखिन्छ ।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’को यसअघि सिनेमामा समावेश ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलको गीत सार्वजनिक गरिएको थियो । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij