२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

ब्राजिलको निर्वाचनमा पराजयपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘भागेको होइन’

ब्राजिलको निर्वाचनमा पराजयपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘भागेको होइन’

बीबीसी । ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि अमेरिकाको मियामी पुगेका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू देश छाडेर भागेको भन्ने आरोप अस्वीकार गरेका छन् । उनले आफूले मातृभूमि छाड्ने चाहना नराखेको भन्दै ब्राजिलकै हितका लागि देशबाट बाहिरिएको दाबी गरेका छन् ।

आफू अमेरिका पुगेपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले भने, ‘म ब्राजिलबाट भागेको होइन, ब्राजिलकै लागि बाहिरिएको हुँ ।’

ब्राजिलमा आपराधिक अनुसन्धानका क्रममा उनको राहदानी रद्द गरिएपछि अमेरिकाले उनलाई र उनको परिवारलाई प्रवेशाज्ञा दिएको थियो । बोल्सोनारोले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकारहरूसँग बोल्दै बोल्सोनारोलाई अमेरिका प्रवेश गर्न अनुमति दिएको बताएका थिए ।

नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने बोल्सोनारोले गोप्य रूपमा देश छाडेको विषयमा आलोचना गरेका छन् । उनले लुकाउनुपर्ने केही नभएकाहरू डराउनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

बोल्सोनारो फ्लोरिडा पुगेपछि उनको अवस्थाबारे केही दिनदेखि जारी अन्योल अन्त्य भएको छ । उनी पहिले अर्जेन्टिना पुगेको र त्यसपछि अमेरिका प्रवेश गरिसकेको भन्ने खबर सार्वजनिक भए पनि ती विवरणबारे अन्योल कायम थियो ।

आफ्नो लामो वक्तव्यमा बोल्सोनारोले अर्जेन्टिना र अमेरिकाका राष्ट्रपतिसहित आफूजस्तै मूल्य र मान्यता राख्ने अमेरिकी नागरिकलाई धन्यवाद दिएका छन् । उनले आफू राजनीतिक उत्पीडन र ‘कू’ को सिकार भएको दाबी गर्दै परिवारको सुरक्षाका लागि अमेरिका आएको बताएका छन् ।

उनले निर्वाचनमा धाँधली भएको भन्ने प्रमाणित नभएका आरोपसमेत दोहोर्याएका छन् । निर्वाचनको परिणामलाई ‘गणितीय रूपमा असम्भव’ भएको दाबी गरे पनि त्यसको समर्थनमा प्रमाण प्रस्तुत गरेका छैनन् ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्सोनारोले लगाएका निर्वाचनसम्बन्धी आरोपबारे टिप्पणी गर्न अस्वीकार गरेका थिए । उनले भने, ‘म यसमा संलग्न हुन चाहन्नँ । तर त्यो निकै अनौठो निर्वाचन थियो भन्ने निश्चित छ ।’ ट्रम्पले बोल्सोनारो र उनको परिवारमाथि अनुचित व्यवहार भएको आफूलाई लागेको पनि बताएका थिए ।

ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा बोल्सोनारोले अग्रता लिए पनि आइतबार भएको दोस्रो चरणमा लुला दा सिल्भाले चार लाख होइन, ४० लाखभन्दा बढी मतान्तरले जित हासिल गरेका थिए ।

मतदाता सहभागिता बढ्नु र अनिर्णीत मतदाताको समर्थन लुलातर्फ जानु उनको जितका प्रमुख कारण मानिएका छन् । निर्वाचन परिणामलाई ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका प्रमुखले पुष्टि गरेका थिए । ती अधिकारीलाई बोल्सोनारोका पिता तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोले नियुक्त गरेका थिए ।

मंगलबार २४ घण्टे समयसीमाभित्र राहदानी बुझाउन नसकेपछि ब्राजिलका अधिकारीहरूले उनका राहदानी रद्द गरी सीमा नाकाहरूमा निगरानी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि उनी देश छाडेर भागेको आशङ्का थप बढेको थियो । उनका वकिलहरूले समेत उनी कहाँ छन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij