रोयटर्स । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित सिनेटर फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा जारी गरिने बताएका छन् ।
रोयटर्सका अनुसार फ्लाभियो मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । उनीसँगै उनकी पत्नी र दुई छोरी पनि अमेरिका पुगेको बताइएको छ । यद्यपि, उनीहरू रहेको स्थानबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
फ्लाभियोले आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजय व्यहोरेका थिए । उनले निर्वाचन परिणाम औपचारिक रूपमा स्वीकार गरेका छैनन् । यसअघि उनले मतदाता अनियमितताको आरोप लगाउँदै निर्वाचन परिणाम बदर गर्न माग गर्ने बताएका थिए ।
यसैबीच, ब्राजिलको सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा फ्लाभियोलाई राहदानी बुझाउन आदेश दिएको थियो । उनले आदेश पालना नगरेपछि उनको राहदानी रद्द गरिएको स्रोतहरूले बताएका छन् । अदालतले उनी देश छाडेर भाग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै राहदानी नियन्त्रणमा लिन आदेश दिएको थियो ।
तर, राहदानी बुझाउने समयसीमा कायम रहेकै अवस्थामा उनी कसरी अमेरिका पुगे भन्ने स्पष्ट भएको छैन । ब्राजिलको संघीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार उनी नियमित अध्यागमन नाकाबाट देशबाहिर गएका थिएनन् । फ्लाभियोले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।
फ्लाभियो अमेरिका पुगेपछि ब्राजिल र अमेरिकाबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने देखिएको छ । राष्ट्रपति लुलाले बोल्सोनारो परिवारलाई पुनः सत्तामा ल्याउन अमेरिकाले सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारो ब्राजिलको न्यायिक प्रणालीबाट प्रताडित भएको आरोप लगाएका थिए । सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि जैर पनि अमेरिका गएका थिए । पछि ब्राजिल फर्किएका उनलाई सत्ता पलटको षड्यन्त्रमा दोषी ठहर गर्दै २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
लुलाले फ्लाभियो देश छाडेको खबरप्रति प्रतिक्रिया दिँदै उनले ब्राजिलमै बसेर आफू निर्दोष रहेको प्रमाणित गर्नुपर्ने बताएका छन् । फ्लाभियोका चुनावी अभियान प्रमुख रोजेरियो मारिन्होले भने उनको अमेरिका प्रस्थानको खबरले आफूहरू आश्चर्यमा परेको बताएका छन् । फ्लाभियोको सिनेटर पदको कार्यकाल आगामी फेब्रुअरीमा समाप्त हुँदैछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij