काठमाडौँ । गायक दुर्गेश थापाले वरिष्ठ गायक आनन्द कार्कीलाई ‘दुश्मन हेरेको हेर्यैमा’ गीतमा सहकार्य गरेबापत सहमति भएको पारिश्रमिक भुक्तानी गरिसकेको स्पष्ट पारेका छन्।
प्राइम टिभीबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा गायक कार्कीले व्यक्त गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै थापाले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले उक्त गीतमा सहकार्य गरेका सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक सम्बन्धित समयमै भुक्तानी गरिसकेको दाबी गरेका छन्। कार्कीलाई भुक्तानी गरिएको प्रमाणसमेत प्रेस विज्ञप्तिसँगै संलग्न गरेको उनले उल्लेख गरेका छन्।
थापाले नेपाली संगीत क्षेत्रमा आफूले प्राप्त गरेको स्थानमा अग्रज कलाकारको माया, सद्भाव, आशीर्वाद र सहकार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। उनले अग्रज कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको र आगामी दिनमा पनि त्यो सम्मान कायम रहने स्पष्ट पारेका छन्।
कार्यक्रममा उल्लेख गरिएको अर्को गीतका सम्बन्धमा पनि थापाले स्पष्टीकरण दिएका छन्। उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्रका लागि तयार गरिएको भन्दै उनले चलचित्र परियोजनासँग सम्बन्धित निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र पक्षकै रहेको बताएका छन्।
कुनै पनि विषयलाई पूर्ण सन्दर्भ र यथार्थ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्ने उनको भनाइ छ। आफ्नो सिर्जनात्मक संलग्नता र चलचित्र परियोजनासँग सम्बन्धित जिम्मेवारीबीचको भिन्नता स्पष्ट पार्न विज्ञप्ति जारी गरेको उनले बताएका छन्।
थापाले आफ्नो उद्देश्य कसैप्रति आरोप लगाउनु वा विवाद सिर्जना गर्नु नभई वास्तविक अवस्था स्पष्ट पार्नु रहेको उल्लेख गरेका छन्।
नेपाली संगीत क्षेत्रको उन्नति र प्रतिष्ठा कायम राख्न आपसी सम्मान, विश्वास, सहकार्य र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले फरक बुझाइका कारण कलाकारबीचको आपसी सम्मान र सांगीतिक सम्बन्ध कमजोर हुन नहुने बताएका छन्।
उनले यस विषयमा प्रस्तुत तथ्यका आधारमा निष्पक्ष बुझाइ कायम गरिदिन सञ्चारमाध्यम, संगीतकर्मी तथा शुभेच्छुकहरूलाई अनुरोधसमेत गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij