२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

ट्रम्प प्रशासनको समर्थनबीच माचाडोको स्वदेश फिर्ती

ट्रम्प प्रशासनको समर्थनबीच माचाडोको स्वदेश फिर्ती

काराकास । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक रूपमा तनावपूर्ण अवस्थामा उनको स्वदेश फिर्ती भएको हो ।

‘म यहाँ छु, तपाईँहरूसँगै छु,’ माचाडोले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् । यसअघि उनले पटक–पटक स्वदेश फर्कने प्रयास गरे पनि सफल हुन सकेकी थिइनन् ।

माचाडोले सन् २०२३ मा स्वतन्त्र रूपमा आयोजित राष्ट्रपतीय प्राथमिक निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी थिइन् । तर, राष्ट्रपति निकोलस मादुरो नेतृत्वको सरकारले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । सरकारले उनीमाथि ठगी र कर उल्लङ्घनको आरोप लगाएको थियो । माचाडोले भने ती आरोप राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएकी छन् ।

मादुरो सरकारले चुनाव लड्न रोक लगाएपछि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेज उम्मेदवार बनेका थिए । निर्वाचन निकायले मादुरोलाई विजयी घोषणा गरे पनि विस्तृत मतपरिणाम सार्वजनिक नगरेपछि विपक्षीले त्यसको विरोध गरेको थियो । विपक्षीले गोन्जालेज विजयी भएको दाबी गर्दै मतगणनाका विवरणसमेत सार्वजनिक गरेको थियो ।

माचाडो नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वे जानुअघि भेनेजुएलामै लुकेर बसेकी थिइन् । उनी रातको समयमा स्पिडबोटमार्फत देश छाडेर नर्वे पुगेकी थिइन् ।

गत जनवरीमा अमेरिकी सेनाले मादुरोलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको थियो । उनी अहिले अमेरिकाको न्युयोर्कमा लागुऔषध, हतियार तथा यातनासम्बन्धी आरोपको सामना गर्दै हिरासतमा छन् । उनले आफूमाथिका आरोप अस्वीकार गरेका छन् ।

मादुरो सत्ताबाट हटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उनकी उपप्रमुख डेल्सी रोड्रिगेजलाई अन्तरिम नेताका रूपमा समर्थन गरेको थियो । रोड्रिगेजले पछि अमेरिकालाई अनुकूल हुने सर्तसहितको तेल सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij