भर्जिनिया, अमेरिका । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन्।
भर्जिनियामा सम्पन्न समितिको तेस्रो महाधिवेशनअन्तर्गत आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार नेम्वाङले २६६ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी सी.पी. पौड्यालले १३८ मत पाए। नेम्वाङ १२८ मतको अन्तरले विजयी भएका हुन्।
सभापति पदमा सुरुमा चार जनाको उम्मेदवारी परेको थियो। मतदानअघि अमृत सापकोटा र वेद पी. खरेलले उम्मेदवारी फिर्ता लिएर नेम्वाङलाई समर्थन गरेका थिए। मतदानमा सन्तोष पहारीले २८ र ध्रुव गौतमले १५ मत प्राप्त गरे भने उम्मेदवारी फिर्ता लिएका वेद पी. खरेलको नाममा ११ मत परेको थियो। कुल ४७३ मत खसेको थियो।
१२ वर्षपछि आयोजना भएको महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विनोद भट्ट १४२ मतसहित निर्वाचित भएका छन्। उपसभापतिमा सञ्जीव श्रेष्ठले २३५, श्रीराम थापाले १८०, हरि पी. शर्माले १७८ र निमा बोम्जनले १४५ मत प्राप्त गरी निर्वाचित भए।
युवा उपसभापतिमा सुशील क्षेत्री २४१ मतसहित विजयी भएका छन्।
महामन्त्रीमा नारायण खनालले २०४ र गौतम दाहालले १८४ मत प्राप्त गरे। सहमहामन्त्रीमा अर्जुन बम १६० तथा अनिता परियार १६९ मतसहित निर्वाचित भए। कोषाध्यक्ष पदमा नारायण पी. पोखरेलले १६३ मत प्राप्त गर्दै विजय हासिल गरे। सदस्यका सबै पदमा भने निर्विरोध निर्वाचन भएको थियो।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनको शनिबार नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापाले जुममार्फत विशेष सम्बोधन गरेका थिए।
केही तस्विरहरु :

© 2026 All right reserved to samajpress.com | Site By : Sobij