काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन्।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि समीक्षा गरौं। हामीबाट भएका कमजोरीहरू के छन्, त्यसको पनि खोजी गरौं। कमजोरीका कारण कतै जनतामा निराशा बढेको छ, कम्युनिष्ट पार्टीप्रतिको आकर्षण घटेको छ। यसको खोजी गर्ने काम गरौं। त्रुटि सच्याउने साहस गरौं। धुलो टकटक्याएर फेरि उठौं। हामी सबै चुनौतीको सामना गर्न सक्छौं भन्ने नयाँ विश्वासका साथ अगाडि बढौं।’
नेपालले कम्युनिष्ट पार्टी व्यक्तिपूजाभन्दा नीति, विचार र सिद्धान्तमा आधारित हुनुपर्ने धारणा पनि राखे। उनले नेताहरूको चाकडी र जयजयकार गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै पार्टीभित्र नीतिगत बहस र वैचारिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टी नीति प्रदान गर्ने पार्टी हो, विचार प्रदान गर्ने पार्टी हो। नेताहरूको चाकडी गर्ने काम कसैले नगर्नुस्, जयजयकार पनि नगर्नुस्। यो सबै पार्टीमा लागू हुन्छ। व्यक्तिभन्दा नीतिमा जोड दिनुस्, पार्टीको विचार र सिद्धान्तमा जोड दिनुस्। नेपालको राजनीतिमा जनताको विश्वास जोगाउने काममा हामीले अग्रसर हुनैपर्छ। यस सन्दर्भमा हामी सबै हातेमालो गरौं।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij