२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आफन्तलाई स्वकीय सचिव राख्न रास्वपा सांसदहरूलाई निषेध

आफन्तलाई स्वकीय सचिव राख्न रास्वपा सांसदहरूलाई निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी कडा आन्तरिक निर्देशन जारी गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी नयाँ निर्देशिकाअनुसार अब रास्वपाका कुनै पनि सांसदले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिवको रूपमा नियुक्त गर्न पाउने छैनन्।

राज्यकोषको दुरुपयोग रोक्न, पारदर्शिता कायम गर्न र नातावाद तथा परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने उद्देश्यले यो नीति ल्याइएको पार्टीले जनाएको छ। मन्त्रिपरिषद्ले हालै संघीय संसद्का सदस्यहरूलाई शाखा अधिकृत सरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेसँगै रास्वपाले यस्तो निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार सांसदहरूले स्वकीय सचिव छनोट गर्दा पारिवारिक परिधिभन्दा बाहिरबाट सार्वजनिक आह्वानमार्फत खुला प्रतिस्पर्धात्मक विधि अपनाउनुपर्नेछ। यसका लागि संसदीय दलले साझा विज्ञापन ढाँचा तयार गर्ने र सोही आधारमा आवेदन माग गर्नुपर्नेछ। निर्देशनमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’

स्वकीय सचिव बन्नका लागि संघीय संसद् सचिवालयले तोकेबमोजिम न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने विज्ञता, प्रविधिमैत्री क्षमता र अनुसन्धान कौशल भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, नियुक्ति प्रक्रियामा महिला, सीमान्तकृत र पिछडिएका वर्गलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको छ।

निर्देशनमा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा गर्ने, असुल्ने वा हिनामिना गर्ने कार्यलाई पूर्णतः निषेध गरिएको छ।   ‘पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस्तो कार्यमा आर्थिक अनियमितता पाइएमा गम्भीर अनुशासनहीनता मानिनेछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij