२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सरकारले सदनको आफ्नै बहुमतलाई पनि पत्याएनः सभापति थापा

सरकारले सदनको आफ्नै बहुमतलाई पनि पत्याएनः सभापति थापा

रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले संसद र नागरिक दुवैलाई हेपेको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास नरहेको बताएका हुन् ।

उनले संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट भएको बताए ।

उनले भने, ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ । संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’ सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भनेर भ्रामक प्रचार गरिएको भन्दै थापाले यसलाई ’सरासर ढाँटेको र हेपेको’ संज्ञा दिए।

संवैधानिक परिषद्को बनोटका विषयमा उनले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफू अनुकूल चलखेल गर्ने काम जारी रहेको बताए। उनले भने,‘हामी सुधारको पक्षमा छौं र संवैधानिक निकायको नियुक्तिमा व्यापक परिवर्तन गर्ने पक्षमा थियौं । तर प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढंगले अघि बढ्न खोजिएको छ।’

शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्ति विरुद्ध कांग्रेस चुप नबस्ने उनको चेतावनी थियो ।

गत फागुनमा सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि थापा पहिलो पटक मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न सर्लाही जान लागेका हुन । उनले आज दिनभर सर्लाहीका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij