२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद। मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुगेका छन्। यस भ्रमणलाई क्षेत्रीय शान्ति र स्थिरता तर्फको महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।

विदेशमन्त्री अराघचीसँगै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईसहितको प्रतिनिधिमण्डल पनि इस्लामाबाद पुगेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार अराघचीले प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल जनरल असीम मुनिरसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।

त्यसैगरी, अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर शनिबार पाकिस्तान आउने तयारीमा छन्। उनीहरूले इरानी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष वार्तामा सहभागी हुने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले पुष्टि गरेकी छन्।

पाकिस्तानले यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। पाकिस्तानको विदेश कार्यालयका अनुसार इरानी प्रतिनिधिमण्डललाई उपप्रधानमन्त्री इशाक डार, फिल्ड मार्शल असीम मुनिरसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

इरानी दूतावासले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा विदेशमन्त्री अराघचीले द्विपक्षीय विषयहरू र क्षेत्रीय परिस्थितिबारे छलफल गर्ने उद्देश्यले इस्लामाबाद भ्रमण गरेको जनाएको छ।

पाकिस्तानी स्रोतहरूका अनुसार मध्यस्थता टोलीसँगको छलफलपछि अमेरिका–इरानबीच दोस्रो चरणको शान्ति वार्ता इस्लामाबादमा हुने अपेक्षा गरिएको छ। सम्भावित समझदारी बनेमा अमेरिकी प्रतिनिधिमण्डल शनिबार रातिसम्म आइपुग्ने संकेत पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij