२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

ट्रम्प, पुटिन र सीबीच अर्को साता भेटवार्ता हुने

ट्रम्प, पुटिन र सीबीच अर्को साता भेटवार्ता हुने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले तीन देशका राष्ट्रप्रमुखबीच चीनको दक्षिणी सहर सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने जानकारी दिएकी हुन् ।

उनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउनेछन् । आणविक हतियारको विस्तार विश्वका लागि अत्यन्त खतरनाक रहेको ट्रम्पको धारणा रहेको उनले बताइन् ।

विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका नेताबीच हुने छलफलमा इरानको विषय पनि उठ्न सक्ने बताइएको छ । यद्यपि, युक्रेन युद्धको विषय भने छलफलमा समावेश नहुने बुझिएको छ । यसबारे रुस र चीनले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरूले उक्त भेटवार्तापछि तत्काल कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् ।

ट्रम्प बुधबार राति सेन्जेन पुग्नेछन् । २१ सदस्य राष्ट्र सहभागी एपेक शिखर सम्मेलन दुई दिनसम्म चल्नेछ । उनले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ । सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ ।

ह्वाइट हाउसकी प्रवक्ता वेल्सका अनुसार चीन भ्रमणको अन्तिम चरणमा अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच त्रिपक्षीय बैठक हुनेछ ।
ट्रम्पले मंगलबार फिलिपिन्समा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् । उनको भ्रमणले अमेरिकी नागरिकका लागि ऐतिहासिक उपलब्धि हासिल गर्नुका साथै हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको हित अघि बढाउने ह्वाइट हाउसको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij