२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अन्तर्राष्ट्रिय बजारमा १३ प्रतिशतले घट्यो तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा १३ प्रतिशतले घट्यो तेलको मूल्य

रोयटर्स । इरानले हर्मुज जलमार्गबाट व्यावसायिक जहाज आवतजावत खुला रहेको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब १३ प्रतिशतले घटेको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानसँगको युद्धविराम अवधिभर जलडमरूमध्य पूर्ण रूपमा खुला रहने बताएका छन् ।

यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब कहिल्यै उक्त मार्ग बन्द नगर्ने सहमति जनाएको दाबी गरेका छन् ।

शुक्रबार ब्रेन्ट क्रुडको मूल्य १२.९५ प्रतिशतले घटेर प्रति ब्यारेल ८६.५२ डलरमा झरेको छ। यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट पनि १४.२६ प्रतिशतले घटेर ८१.१९ डलरमा सीमित भएको छ। दुवै सूचकांक मार्च १० यताकै न्यून स्तरमा पुगेका छन् ।

विश्लेषकहरूले इरानको घोषणाले क्षेत्रीय तनाव घट्ने संकेत दिएको बताएका छन्। यूबीएसका विश्लेषक जियोभानी स्टाउनोभोका अनुसार युद्धविराम कायम रहँदासम्म बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ, तर जलडमरूमध्य हुँदै तेल बोक्ने ट्यांकरहरूको आवागमन कति बढ्छ भन्ने अझै हेर्न बाँकी छ ।

यसअघि नै अमेरिका–इरानबीच थप वार्ता हुने संकेत र लेबनान–इजरायलबीच १० दिने युद्धविरामले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यतर्फ उन्मुख हुनसक्ने आशा बढाएको थियो ।

राष्ट्रपति ट्रम्पले इरानले २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नबनाउने प्रस्ताव गरेको उल्लेख गर्दै सम्झौता नजिक पुगेको बताएका छन्। साथै उनले अमेरिकाले इजरायललाई लेबनानमा थप आक्रमण नगर्न निर्देशन दिएको पनि बताएका छन्।

यद्यपि, एक अमेरिकी अधिकारीका अनुसार इरानविरुद्ध १० हजारभन्दा बढी सैनिक संलग्न सैन्य नाकाबन्दी भने अझै कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij