२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

भोजपुर । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।

मुन्दुम पदमार्गको प्रचारप्रसार तथा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीनवटा स्थानीय तह र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

हतुवागढी–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरीमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय भए ।

विजेताहरूले क्रमशः ८० हजार, रु ६० हजार र ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै महिला खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय भए ।

उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ८० हजार, रु ६० हजार र रु ४० हजार पुरस्कार प्राप्त गरेको आयोजक समितिका सचिव रविन थापाले जानकारी दिए ।

पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय भए । उनीहरूले पनि ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन् । महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय भए । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

भेट्रान (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामानाथ लिम्बू प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय बने । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेका आयोजक समितिका अध्यक्ष सन्दीप किरावाले बताए ।

भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बने । उनीहरूले क्रमशः २० हजार र  १५ हजार पुरस्कार प्राप्त गरे । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, कोशी प्रदेशसभा सदस्य विनोद वान्तावा, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईलगायतले विजेतालाई पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij