२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ ।

दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।

बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताए। भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनको भनाइ छ ।

जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उनले जानकारी दिए ।

‘बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ’, थापाले भने, ‘सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।’

बराह क्षेत्रसम्म जलयात्रा गरेको रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताए। हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।

‘हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पथ्र्यो’, राईले भने, ‘अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।’

बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ’, अध्यक्ष राईले भने, ‘दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij