काठमाडौं । नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । प्रतियोगिता जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउनेछन् । तेस्रो संस्करणको विश्वकपका ४१ खेल नेपाल र बङ्गलादेशका चार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने आईसीसीले जनाएको छ । १५ खेल नेपालमा हुने तय भएको आईसीसीले जनाएको छ ।
नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन् । नेपालले जनवरी २२ मा आयरल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । साविक विजेता भारतले पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, बङ्गलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (यूएई) तथा समूह ‘डी’ मा इङ्ल्यान्ड, श्रीलङ्का, अमेरिका र स्कटल्यान्ड रहेका छन् ।
प्रतियोगिताका खेल बङ्गलादेशको चटगाउँस्थित वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियम र सिलेट इन्टरनेसनल क्रिकेट स्टेडियम तथा नेपालको काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
जनवरी २१ मा चार खेलसँगै प्रतियोगिता सुरु हुनेछ । समूह चरणका खेल जनवरी २६ सम्म चल्नेछन् । त्यसपछि छनोट भएका टोलीले सुपर सिक्स चरणमा प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सका दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल खेल फेब्रुअरी ४ मा बङ्गलादेशको चटगाउँमा हुनेछ । फेब्रुअरी ५ लाई वैकल्पिक दिनका रूपमा राखिएको छ । फाइनल खेल फेब्रुअरी ६ मा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे हुनेछ भने फेब्रुअरी ७ वैकल्पिक दिन तोकिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij