२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको अपील

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको अपील

 

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा बोर्डले सेवाग्राही तथा सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

मंगलबार अपील जारी गर्दै बीमा बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बीमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको हो ।

त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र जाँच, प्रयोगशाला परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक स्वास्थ्य सुरक्षाको प्रमुख कार्यक्रम हो ।

सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीहरूका बाबजुत पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेका छन्, जसका कारण दैनिक औसत  आठ करोड बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ ।

हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा देखिएको असहजता वा अस्थायी सेवा अवरोध समाधान गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको जानकारी दिँदै, स्वास्थ्य बमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij