२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट। रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला भइरहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुईमहिनासम्म जारी रहने छ ।

२०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए ।

मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्ने गरेको उनले जानकारी दिए ।

जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने र आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने अध्यक्ष शर्माको भनाइ छ । विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ ।

मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको उनले जानकारी दिए । यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij