अस्टिन । ग्रेटर अस्टिन नेपाली सोसाइटी को प्राङ्गणमा अष्टिनवासी नेपाली समुदायले नेपालमा भइरहेको जेन जी आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाउँदै भव्य विरोध प्रदर्शन तथा दीप प्रज्वलनसहित समर्थन र्याली सम्पन्न भएको छ। कार्यक्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरियो र आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरियो। अष्टिनवासी नेपालीहरूको अग्रसरतामा सम्पन्न भएको र्यालीलाई समुदायका सदस्यहरू, विभिन्न संस्थागत प्रतिनिधि तथा सामुदायिक अगुवाहरूले पूर्ण समर्थन जनाएका थिए।

३०० भन्दा बढी सहभागीहरूले नेपालको झण्डा बोकेर, दीप प्रज्वलन गरेर र राष्ट्रिय गीत गाएर नेपालप्रति गहिरो प्रेम व्यक्त गरे। एक मिनेट मौनधारण गरी दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली दिइएको थियो । विरोध प्रदर्शनमा सहभागीहरूले “शहीद घोषणा गर्नु पर्दैन, ५–१० लाख दिनु पर्दैन, १ लासको बदलामा १ नेताको ज्यान चाहिन्छ हिसाब बराबर चाहिन्छ भन्ने नारा लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको फोटो जलाएर आक्रोश प्रकट गरेका थिए।

जेन जी युवादेखि ७२ वर्षीय वृद्धसम्मले मरेका युवाहरूको रगतको मूल्य सरकारलाई महँगो पर्छ भनेर चेतावनी दिए। युवाहरूले गोलिले दबाउन खोजे पनि नझुक्ने अठोट व्यक्त गर्दै आन्दोलनमा पूर्ण साथ प्रकट गरे। वक्ताहरूले प्रवासमा रहे पनि नेपालप्रति माया कहिल्यै कम नहुने सन्देश दिनु नै र्यालीको उद्देश्य रहेको बताए।

साथै, जेन जी आन्दोलनलाई पूर्ण समर्थन गर्दै जे–जस्तो सहयोग आवश्यक परे पनि हामी सधैँ साथमा रहनेछौँ भन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरियो। वक्ताहरूले र्यालीको मुख्य उद्देश्य प्रवासमा रहेका नेपालीहरूले मातृभूमिप्रति आफ्नो आवाज बुलन्द पार्नु रहेको स्पष्ट पारे। उनीहरूले जेन जी आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गर्दै जे–जस्तो आवश्यक पर्छ, हामी सधैं साथमा छौँ, आवश्यकता परे आर्थिक सहयोगमा समेत अघि बढ्छौँ भन्ने एकमत प्रतिबद्धता समेत जनाए। अन्त्यमा, सम्पूर्ण सहभागीहरूले जहाँ जहाँबाट भए पनि आ–आफ्नो ठाउँबाट आवाज उठाउन सम्पूर्ण नेपालीलाई आह्वान गरे।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij