काठमाडौँ- रामेछापबाट काठमाडौँ आउँदै गरेको बस रामेछापमै दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार दिउँसो आफैं अनियन्त्रित भई सुनापाती गाउँपालिका ३ कै भलायखर्क भन्ने स्थानमा पल्टिँदा सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
‘बसमा २० यात्रु सवार थिए। त्यसमध्ये दुर्घटनाम सातजना घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होम पराजुलीले भने, ‘घाइते सबै खतरामुक्त छन्।’
घाइतेलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए।
अप्ठ्यारो बाटोमा अनियन्त्रित भएर बस सडकमै पल्टिएको हो। सडकबाट तल नखसेकाले ठूलो मानविय क्षति हुन नपाएको डीएसपी पराजुलीले बताए।
दुर्घटनापछि बस चालक रामेछापकै चित्रबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडकको बीचमै बस पल्टिँदा दिउँसो केही घण्टा सुनापतिमा सडक अवरुद्ध भएको थियो।
दुर्घटनामा सुनपाती २ का ५० वर्षीया मैच्याङ तामाङ, सुनापाती ४ का ६२ वर्षीय धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षीया शुक्रमाया विश्वकर्मा, सुनापाती २ का ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापा, सुनापटी–५ का चार वर्षीय बालक विश्वास बिसंखे घाइते भएका छन्।
उनीहरु सबैको धुलिखेलमा उपचार भइरहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij