२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

मन्त्री अधिकारीको अभिव्यक्तिप्रति सहकारी पीडितको आपत्ति

मन्त्री अधिकारीको अभिव्यक्तिप्रति सहकारी पीडितको आपत्ति

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितहरुविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

अभियानका अध्यक्ष कुशलभ केसीले विज्ञप्ति जारी गरी मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । बुधबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरु आन्दोलनमा रहेको अभिव्यक्ति दिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले विगत १६ महिनादेखि तेस्रो चरणको सडक आन्दोलन १०५ दिनदेखि बचत फिर्ताको मुख्य माग राखी आन्दोलनरत समस्त बचतकर्ताको मानमर्दन हुने गरी पीडितको घाउमा मल्हमपट्टि लाउनुको सट्टामा नुनचुक लाउने र संयमपूर्णरुपमा रहेका आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने खालको आपत्तिजनक र भ्रमपूर्ण संप्रेषित समाचारको भाषाले समस्त बचतकर्ता पीडितलाई मर्माहत बनाएको छ ।’

उनले मन्त्री अधिकारीलाई सार्वजनिकरुपमा माफी माग्नसमेत चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो पदीय जिम्मेवार पदाधिकारीले तथ्य विना समस्त सहकारी पीडितको मान मर्दन र मर्ममा चोट पुग्ने गरी दिएको सार्वजनिक अभिव्यक्ति आपत्तिजनक र खेदजनक छ । सहकारी मन्त्रीज्यूलाई यसको तत्काल खण्डन गरी सार्वजनिक माफी माग्न र सम्झौता कार्यान्वयन गर्न सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आह्वान गर्न चाहन्छ । अन्यथा यसको विरोधमा भ्रष्ट सहकारी संचालकको संरक्षक मन्त्रीको राजीनामा मागसहितको पुत्ला दहन गर्ने कार्यक्रम तय गरिने छ । साथै यही भाद्र २३ गते आइतबार हुने भनिएको पुर्व निर्धारित विरोध कार्यक्रम यथावत रहेको र अझ सशक्तताका साथ अघि बढाइने समेत जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij