२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

अख्तियारले मुद्दा हाल्नेबित्तिकै निलम्बन गर्ने नगर्ने विषयमा पर्याप्त छलफल गरौंः प्रचण्ड

अख्तियारले मुद्दा हाल्नेबित्तिकै निलम्बन गर्ने नगर्ने विषयमा पर्याप्त छलफल गरौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासन प्रणाली र नियामक संरचनाका बीचमा परिमार्जन गर्नुपर्ने विषय धेरै रहेको बताएका छन् ।

बिहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल गर्नुपर्ने बताएका हुन् ।

उनले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने विषयमा पर्याप्त बहस आवश्यक रहेको बताए । उनले निलम्बतपश्चात् बीचको समय र अन्तिम फैसला दिँदासम्म अदालतले निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति के हुने भन्ने विषयमा पर्याप्त छलफल आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘हामीले विगतमा पनि देख्यौं । आयोगले मुद्दा दर्ता गर्यो, अदालतले फैसला गर्दा निर्दोष भन्यो । अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्ने कि, हुनै परे क्षतिपूर्तिको व्यवस्था गर्ने कि ? पर्याप्त छलफल होस् । यसमा विज्ञहरुसँग पनि छलफल गरी यसलाई विगतमा देखिएका समस्यालाई सम्बोधन गरी बनाइयोस् भन्न मेरो अपील छ ।’

उनले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियारसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महसुस हुने गरेको बताए ।

उनले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादत्म्य, तालमेल, एक–अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले हदम्यादसँग सम्बन्धित विषयमा पर्याप्त छलफल आवश्यक रहेको बताए ।

उनले भने, ‘हदम्यादको विषय पहिलेको प्रचलनभन्दा घटाउने कि बढाउने भन्ने पनि छलफलबाटै टुंगो लगाउनुपर्छ । तर यसमा पर्याप्त छलफल होस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij