२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

भूमिगत राजनीतिका पूर्व नेता अहिले बाख्रा, सुन्तला र मौरीपालनमा

भूमिगत राजनीतिका पूर्व नेता अहिले बाख्रा, सुन्तला र मौरीपालनमा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाइरहेका छन् ।

दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् । गाउँ फर्किएर कृषि उद्यममा लागेका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन् ।

उनले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गरेका थिए । अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उनका अनुसार कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम हो ।

‘नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,’ श्रीसले भने, ‘पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।’

दुईवटा बाख्रा एक लाख रुपैयाँ लगानीबाट उनले छ वर्षअघि व्यवसाय सुरु गरेका थिए । अहिले फार्ममा ३० बाख्रा छन् । वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्नुहुन्छ । खरी र जमुनापारि जातका बाख्रा पालेका उनले व्यावसायिक पशुपालनलाई निरन्तरता दिएका छन् ।

सुरुमा बाख्रापालन सहज भएन । ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुपर्‍यो । तर, उनले हिम्मत हारेनन् । व्यवसायलाई निरन्तरता दिए । अहिले उनको फार्म व्यवस्थित बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरेका छन् ।

बाख्रापालनसँगै उनले सुन्तला खेतीलाई पनि विस्तार गरेका छन् । परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाएका छन् । ती बोटले उत्पादन दिन थालेका छन् । खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाएका छन् । यसले पशुपालनलाई सहज बनाएको छ ।

उनले मौरीपालन सुरु गरेका छन् । अहिले उनीसँग १६ वटा मौरीका घार छन् । सिँचाइका लागि निर्माण गरेको पोखरीमा माछा पाल्न थालेका छन् । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ ।

श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमा मात्र सीमितता राखेको छैन । उनको अगुवाइमा नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ ।

बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ ।

सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उनले सहयोग पाएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।

मध्यमवर्गीय परिवारमा जन्मेका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोजेका हुन् । केही समय उनले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गरेका थिए । तर, अहिले उनको मुख्य ध्यान कृषि र पशुपालनमा केन्द्रित छ ।

बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उनको समय बित्छ । फुर्सदको समय पनि फार्ममै बिताउँछन् । कृषि कर्मसँगै उनी स्थानीय सामाजिक गतिविधिमा समेत सक्रिय छन् । परिवारका सदस्यले उनलाई साथ दिएका छन् ।

श्रीसको जीवनयात्रा भने कृषि उद्यमबाट सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उनी नेकपा (माओवादी) मा आबद्ध भएका थिए । २०५८ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उनी राजनीतिक गतिविधिमा संलग्न रहे ।

२०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बने । त्यसपछि २०६४ देखि २०७० सालसम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गरे । संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उनी जन्मथलो बरंजा फर्किए । त्यसपछि कृषि उद्यमलाई जीवनयापनको आधार बनाएका हुन् ।

श्रीस अहिले पनि राजनीतिमा सक्रिय छन् । उनी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छन् । राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उनको योजना छ । श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादन मात्र बढाउँदैन, गाउँमै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छ । पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उपयोग गर्न सके किसानले आफ्नै गाउँमा आम्दानी गर्न सक्छन् भन्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij