२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

जसपा नेपालले सङ्गठन विस्तारका लागि चार महिने अभियान सञ्चालन गर्ने

जसपा नेपालले सङ्गठन विस्तारका लागि चार महिने अभियान सञ्चालन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।

सङ्घ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।

यस्तै, ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरे ।

सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उनको भनाइ थियो । “यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ”, अध्यक्ष यादवले भने ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij