२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा नबस्न रास्वपालाई योगेश भट्टराईको सुझाव

प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा नबस्न रास्वपालाई योगेश भट्टराईको सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाए ।

उनले भने, ‘हामीले गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताए । उनले भने, ‘हामीले एक पटक फेरि फर्केर हेर्ने बेला भएको छ । ०४६ सालको जनआन्दोलनमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य नभएको भए देशमा बहुदलीय व्यवस्था आउँदैनथ्यो । तर २८ गतेसम्म प्रधानमन्त्रीले के कुर्नुभएको हो थाहा छैन ।’

सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए । उनले भने,‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो । तर, त्यसबेला निकै ढिलो भइसकेको थियो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री प्रचण्डलाई समर्थन नगर्न आग्रह गरे ।उनले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताए ।

उनले भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु । उहाँहरु सत्तापक्षमा बस्नुभएको छ । उहाँहरुको पार्टीको निर्णय र इच्छा हो । हामीले भन्नु केही छैन । तर प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा बसिरहनु भएको छ भने तपाईहरु कता जाँदै हुनुहुन्छ । एक पटक सोच्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij