काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः संसद् विघटन गर्न सक्ने भन्दै सजग रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।
आइतबार पार्टीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीतर्फ संकेत यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको बताए ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला । अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन ।’
उनले पार्टी निर्माण गरेर कार्यकर्ता रक्षा गरेको समयमा नै विद्रोहको पुष्टि भएको बताए। उनले भने, ‘विद्रोह त त्यही बेला पुष्टि भएको थियो, जुन दिन संविधानलाई समाप्त पार्न खोजिएको थियो त्यो विफल पारेका थियौं। विद्रोह नगरेको भए हामी सबै समाप्त हुने थियौं। कि राजनीतिबाट पलायन हुनुपर्थ्यो ।’
उनले एकीकृत समाजवादीमा नेता र कार्यकर्ताको कमी नभएको बताए । उनले भने,’यो पार्टीमा नेता र कार्यकर्ताको कमी छैन। अधिकांश पालिकामा हामी पुगेका छौं। निकै अनुभवि नेता र कार्यकर्ता हामीसँग छन्।’
अध्यक्ष नेपालले पार्टी बलियो बनाउन सही विचार र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने बताए । एमालेबाट विभाजन भएको र एमालेलाई दस्तावेजमा प्रमुख शत्रु किटान गरेको भन्दै एकीकृत समाजवादीको महाधिवेशनमा एमाले भने सहभागी भएन ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij