२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकामा नेपालीत्व बढाउने पशुपतिनाथको भव्य मन्दिर

अमेरिकामा नेपालीत्व बढाउने पशुपतिनाथको भव्य मन्दिर

भनिन्छ मान्छेको भावना र श्रद्धाका सामु भूगोलले कहिल्यै बाधा पुग्दैन । धार्मिक मानिसहरु संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो धर्म र संस्कारप्रति अनुग्रहित रहीरहन्छन् । संसारको जुनसुकै भूगोलमा जन्मेपनि, हुर्केपनि आफ्नो परम्परा, धर्म, संस्कृति र संस्कारप्रति मान्छेको उत्प्रेरणा सधै तन्दुरुस्त रहीराख्छ । यसैको उदाहरण बनेको छ अमेरिकाको टेक्ससको अस्टिनमा रहेको हुट्टोस्थित नवनिर्मित आराध्यदेव श्री पशुपतिनाथको मन्दिर ।

विश्वभर छरिएर रहेका हिन्दूहरुका लागि काठमाडौंमा रहेको भगवान पशुपतिनाथको मन्दिरका रुपमा रहेको छ । यसै पशुपतिनाथको प्रतीकका रुपमा अमेरिकाको टेक्ससमा स्थापित पशुपतिनाथको मन्दिरको मार्च ८ मा प्राणप्रतिष्ठा र उद्घाटन सम्पन्न भयो । मन्दिर अवस्थित हुट्टो नगरका मेयर माइक स्नाइडरले उद्घाटन समारोहमा नेपाली समुदायलाई सम्बोधन गर्दै भने — अमेरिकामा रहेका नेपालीहरुको अध्यात्मिक आस्थाको केन्द्रका रुपमा पशुपतिनाथको मन्दिर बनाउन हुट्टो शहरलाई नै छनोट गर्नुभएकोमा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी विविधतामा विश्वास गर्छौ र पशुपतिनाथ हुट्टोको धार्मिक सांस्कृति विविधताको उदाहरणका रुपमा रहीरहनेछ ।

नवनिर्मित मन्दिरको शैली नेपालकै पशुपतिनाथ मन्दिरसँग मिल्दोजुल्दो छ । मन्दिरको उद्घाटन समारोहमा हजारौ नेपालीहरुको उपस्थिति रहनुले नै यसको गरिमा स्थापित हुन्छ । ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) ले पशुपतिनाथ मन्दिरको निर्माण गरेको हो । २.६ एकड जमीनमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर परिसरमै नेपालीहरुको सामुदायिक भवन पनि सञ्चालनमा आइसकेको छ ।

ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) का अध्यक्ष भोजराज भट्ट मन्दिरको स्थापनापश्चात अमेरिकामा रहेका नेपालीहरुको महत्वपूर्ण सपना साकार भएको बताउँछन् । उनको बुझाईमा मन्दिर स्थापनाको निर्णय गर्दादेखि प्राणप्रतिष्ठाको दिनसम्म हजारौं नेपालीले तन, मन र धनले सहयोग गरेकै कारण मन्दिरको उद्घाटन ऐतिहासिक बनेको हो । “जग्गा प्राप्तिभन्दा अगाडिदेखि जग्गा प्राप्ति हुँदै मन्दिर निर्माणको विभिन्न चरणमा सहयोग गर्नुहुने सबैप्रति हामी कृतज्ञ छौं । मन्दिरको प्राणप्रतिष्ठामा भएको उल्लेखनीय उपस्थितिले पनि सत्कर्ममा सबैको साथ जुट्दो रहेछ भन्ने स्थापित भएको छ”, अध्यक्ष भट्टले समाज प्रेससँग भने । उनले अमेरिकामा रहेका नेपालीहरुको धार्मिक अनूभूति र सांस्कृतिक आवाजलाई पशुपतिनाथको मन्दिरले प्रतिनिधित्व गर्ने बताए ।

मन्दिरको उद्घाटन समारोहमा अमेरिकामा रहेका नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडे, नेजाका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले एवं मन्दिरका सर्वाधिक दानकर्ता निर्मल श्रेष्ठ, बिना श्रेष्ठ लगायतले आफ्नो मन्तव्य मार्फत पशुपतिनाथको मन्दिरले अमेरिकामा नेपालीत्व स्थापनामा योगदान गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij