झरना अधिकारी ।
हरेक वर्ष संसारभर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस धुमधामसँग मनाइन्छ । नेपालमा पनि महिला दिवसलाई सरकारी र गैरसरकारीस्तरबाट महत्वका साथ मनाउँदै आएको पाइन्छ । यस वर्ष नेपालमा ‘महिलामा लगानी : सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
संसारभर व्याप्त महिला उत्पीडनका विरुद्ध सामूहिक प्रतिवद्धता जनाउने अवसरका रुपमा महिला दिवस स्थापित छ । अन्तर्राष्ट्रिय महिला दिवस १ सय १४ औं वर्षमा प्रवेश गरेपनि महिलाहरुको अवस्था भने १ सय १४ वर्ष पुरानै मनस्थितिको जगमा आधारित छ ।
नेपालमा संवैधानिक दृष्टिकोण महिला अधिकार सुनिश्चितताका क्षेत्रमा उल्लेख्य सफलता हासिल भएपनि कार्यान्वयन निराशाजनक छ । गतवर्षसम्म राज्यका प्रमुख शासकीय पदहरुमा महिला अनुहार देखिएको थियो । जसले महिला सशक्तिकरणमा नेपालको प्रयत्न स्वभाविक देखाउथ्यो । अहिले न निर्णाय तहमा महिला नेतृत्व स्थापित छ न त महिला प्रतिनिधित्वको सवाललाई शासन संरचनामा महत्व नै दिइएको छ । संविधानले सुनिश्चित गरेका कारण प्रतिनिधिसभा, राष्ट्रियसभा , प्रदेशसभा जस्ता शासकीय मञ्चहरुमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुगेको छ । यद्यपि दलहरुले त्यसलाई बाध्यताका रुपमा मात्रै स्वीकारेका छन् । अझैपनि स्वभाविक हिसाबले राजनीतिक दल र शासकीय संरचनामा महिलाको सम्मानजनक उपस्थिति स्वीकार गरिएको छैन । कतिपय सन्दर्भमा त संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्व घटाउनुपर्ने आवाज समेत सुनिनु महिला आन्दोलनको चुनौतीका रुपमा रहेको छ ।
यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसले महिलामा हुने लगानीलाई प्राथमिकता दिएको छ । नेपाली महिलाहरुले सामाजिक र आर्थिक हैसियत निर्माणका लागि आजपर्यन्त संघर्ष गर्नुपरेको तथ्य छिपेको छैन । नेपाली समाजमा व्याप्त परम्परागत लैङ्गिक मापदण्डहरुले नेपाली महिलाको शिक्षा, रोजगारी र नेतृत्व विकासमा असर पारेको छ । शिक्षाजस्तो आधारभूत विषयमा पनि आजसम्म महिलाहरुले विभेद खेप्नुपरेको छ । सरकारी नीति र प्रावधानहरु क्रमशः सुधार भएपनि सामाजिक मान्यतामा सुधार आउन भएको ढिलाईले एक्काइसौं शताब्दीको डिजिटल युगमा पनि शिक्षामा महिलाको सम्मानजनक अवसर हासिल हुन सकेको छैन ।
महिलामा लगानीको अर्थ आर्थिक लगानी होइन । महिलाले हासिल गर्ने शिक्षा नै उनीमाथिको मुख्य लगानी हो । यसर्थ हरेक महिलालाई आधारभूत विद्यालय शिक्षादेखि विशिष्ट उच्च शिक्षासम्मका अवसरहरुको ढोका खोलिदिन जरुरी छ । शिक्षित महिलाले आफ्नो अधिकारमात्रै नभएर मुलुकको अवस्था नै बदल्न योगदान गर्नसक्ने तथ्य नेपाली समाजलाई बुझाउन जरुरी छ । त्यसका लागि प्रस्तावित शिक्षा विधेयकमै केही महिलामैत्री प्रावधानहरु समावेश गर्न जरुरी छ । विद्यालयदेखि विश्वविद्यालयसम्म महिला मैत्री शिक्षानीति लागू गर्न जरुरी छ । महिला भएकै कारणले कुनै पनि तहको शैक्षिक उन्नयनमा बाधा व्यहोर्नु नपर्ने अवस्थाको सुनिश्चितता राज्यले गर्न जरुरी छ ।
शिक्षासँगै रोजगारी र उद्यमशील आधुनिक समाजका महत्वपूर्ण पाटा हुन् । महिलाले शिक्षाको अवसर पाउने तर आफूले हासिल गरेको ज्ञानको अभ्यासको अवसर नपाउने हो भने समानता केबल नारामै सीमित हुनपुग्छ । आर्थिक अवसरहरुमा हुने लैङ्गिक विभेदहरुको अन्त्यबाट मात्रै समुन्नत समाजको स्थापना सम्भव छ । यसर्थ महिलालाई रोजगारीमा अवसर सिर्जना गर्न समाज र राज्यले विशेष चासो दिनुपर्ने देखिन्छ । जतिसुकै शिक्षित र योग्य भएपनि महिलालाई घरायसी काममा अल्मलाउने र रोजगारीको अवसरबाट बञ्चित गराउने सामाजिक प्रचलनलाई निरुत्साहन गर्नु आज सबैको दायित्व हो । योग्य महिलाहरु रोजगारीसँगै उद्यमशीलताबाट पनि बञ्चित हुनुपर्ने आजको बाध्यता छ । पुरुषभन्दा राम्रो उद्यमी क्षमता भएका महिलाहरु सामाजिक,राजनीतिक र विविध अड्चनका कारण पर्याप्त अवसर पाइरहेका छैनन् । महिलाले सुरु गरेको सिर्जनात्मक उद्यमशीलतालाई राज्यले विशेष प्रोत्साहन गर्ने नीति बनाइन जरुरी छ ।
विश्वभरको अभ्यास र अध्ययनबाट प्रमाणित भइसकेको छ की महिलालाई समान अधिकार र पहुँचको सुनिश्चितता गराएका मुलुकहरु नै सम्मुनति र सुशासनको सन्दर्भमा अब्बल ठहरिएका छन् । आज आम नेपालीको सपनाको देश बनेका अमेरिका, क्यानडा र युरोपका मुलुकहरु महिला सशक्तिकरणको समेत गतिला उदाहरण हुन् । महिलामाथिको सामाजिक राजनीतिक विभेद नेपालजत्तिकै हुँदा हो त ती राष्ट्रपनि आज विकासविमुख नै रहन्थे ।
यसर्थ महिलामा गरिएको लगानीको प्रतिफल अन्ततः सम्बन्धित समाज र राष्ट्रले नै प्राप्त गर्ने हो । महिलामथि हुने लगानी आर्थिक दृष्टिले मात्रै नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र न्यायिक दृष्टिले हुन जरुरी छ । जसले महिला दिवसको नारालाई मात्रै होइन समतामुलक सम्मुनत विश्व निर्माणको अभियानलाई पनि मद्दत पुर्याउँछ । यसर्थ नेपालले संविधान र अन्तर्राष्ट्रिय कानूनहरुले सुनिश्चत गरेका महिला अधिकार र अवसरको सुनिश्चिततालाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij