२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा)को अन्तर्राष्ट्रिय सम्मेलन-२०२४ बिहीबार जापानको टोकियोमा सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गरेका छन् ।

इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताए । उनले इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य संघसंस्थाहरुलाई आग्रह गरे ।

नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मुल्यांकन गर्दै उहाँले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गरे ।

इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइटेलले विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्षअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे । नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विश्वभरिका पत्रकार पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उनले उल्लेख गरे ।

इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एशिया शाखाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एशिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गरे ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरुलाई उपचारलगायत आवश्यक सहयोग गर्दै आइरहेको छ । पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रीय सदस्य ध्रुव पौडेल, विनेश खनाल, इन्जा एसियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायतको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij