काठमाडौं । नेकपा एमालेले सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा सरकारले संरक्षण गरेर स्टन्टबाजी गरेको आरोप लगाएका हुन् ।
उनले सरकारको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताए । उनले भने, ‘ठूलाठूला भ्रष्टाचारका फाइल खोलेको भनेर भनिदैछ । तर त्यो बास्तविकता होइन । सरकार भ्रष्टाचारीलाई संरक्षण गरेर स्टन्टबाजी गरिरहेको छ । सरकारलाई भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने इच्छाशक्ति नै छैन ।’
गिरीले सरकारबाट आशा नभएको भन्दै युवाहरु विदेशिन थालेको दाबी पनि गरे । उनले भने, ‘वर्तमान सरकार र नेतृत्वबाट जनतामा व्यापक निराशा छाएको छ। जनताले आशा गर्ने ठाउँ कही भेटेका छैनन् । त्यही कारण आत्मविश्वास गुमाएर युवाहरु देश छाडेर विदेश भाग्नेक्रम सुरु भएको छ। जसरी एउटा रुख सुक्यो भने चराहरु अर्को हरियो रुखमा जान्छन्। त्यसरी यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलाएन हुने ठाउँमा अहिले परिस्थिति पुगेको छ।’
उनले गतवर्ष गैरजिम्मेवारीपनको कारणले गर्दा संसदमा एक वर्षको अवधिमा एउटामात्रै ऐन दिएको बताए । कार्यतालिका बनाएर अगाडि बढ्ने सचिवालयको प्रस्ताव र योजना राम्रो रहेको भन्दै उनले सरकारले विजनेश दिनुपर्ने बताए । उनले भने, ‘संसदलाई प्रभावकारी बनाउने कुरामा सरकारको सबैभन्दा ठूलो हुन्छ यसतर्फ सरकार जिम्मेवार बन्नुपर्छ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij