२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २० औं संस्करण माघ १२ मा हुने

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २० औं संस्करण माघ १२ मा हुने

काठमाडौं । नेपाली खेलकुदमा लोकप्रिय मानिएको एनएसजेएफ पल्सर स्पोटसर्् अवार्डको २०औं संस्करण आगामी माघ १२ गते आयोजना हुने भएको छ ।

पल्सर स्पोर्ट्स् अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गरी पल्सरको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । २०६० सालदेखि हुँदै आएको अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५ औं वर्ष हो ।

सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक पाँचवटा बजाज पल्सरको एन सिरिज मोटरसाइकल प्रदान गर्नेछ । जसमा दुई एन २५० र तीनवटा एन १६० मोटरसाइकल हुनेछ । साथै गोल्छाले १२ लाख रुपैयाँ नगद पनि दिने सम्झौतामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको बताए । यस पटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुवेदीले बताएका छन् ।

यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश छन् । जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् ।

यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij