बीबीसी । चीनको जासुस भएको आशंका गरिएकी एलिस ह्वाङले सन् २०२५ को अगस्टमै सिंगापुरस्थित प्रविधि कम्पनी मेगास्पिडको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ ।
एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङसँग जोडिएकी एलिसले कम्पनी छाडे पनि मेगास्पिडको सञ्चालनमा उनको प्रभाव कायम रहेको आशंका गरिएको छ । वासिङ्टनस्थित सुरक्षा विश्लेषण संस्था सीफोरएडीएसका अनुसार औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेपछि पनि उनी कम्पनीको वास्तविक नियन्त्रणमा थिइन् ।
मेगास्पिडले आइतबार आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय गतिविधिबारे सार्वजनिक भएका आरोपहरूको आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ । कम्पनीले ती आरोप पुष्टि गर्ने प्रमाण नरहेको दाबी गर्दै अनुसन्धानका लागि बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको बताएको छ ।
एलिस ह्वाङ र एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङबीच पारिवारिक सम्बन्ध छैन । सिंगापुरका अधिकारीहरूले सन् २०२५ को फेब्रुअरीमा मेगास्पिडसहित अन्य कम्पनीमाथि गरेको अनुसन्धानका क्रममा एलिसको भूमिकाबारे पनि छानबिन गरेका थिए ।
दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता मेगास्पिड रहेको बताइएको छ । यस प्रकरणले अमेरिकी निर्यात प्रतिबन्धका बाबजुद उच्च क्षमताका एआई चिप चीन पुगेको हुन सक्ने आशंका बढाएको छ ।
यसैबीच, अमेरिकी सांसद जोन मोलिनारले जेन्सेन ह्वाङ अमेरिकी संसदका तीनवटा समितिसमक्ष बयान दिन सहमत भएको बताएका छन् । चीनसम्बन्धी प्रतिनिधिसभाको विशेष समितिका अध्यक्षसमेत रहेका मोलिनारका अनुसार ह्वाङले चीनसम्बन्धी विशेष समिति, विदेश मामिला समिति र गुप्तचरसम्बन्धी समितिसमक्ष बयान दिनेछन् ।
बयान दिन अस्वीकार गरे समन जारी गर्ने चेतावनी दिइए पनि अन्ततः त्यसको आवश्यकता नपरेको मोलिनारले बताए । ह्वाङको बयान बन्द कोठाभित्र हुने र मिति तय हुन बाँकी रहेको छ ।
मोलिनारका अनुसार बयानबाट एनभिडियाको गोप्य सूचनामा कसको पहुँच थियो, सम्भावित चिनियाँ जासुसीले कम्पनीको एआईसम्बन्धी नीति तथा अमेरिकी निर्यात नियन्त्रणमा कस्तो प्रभाव पारेको थियो भन्ने विषय स्पष्ट पार्न मद्दत पुग्नेछ ।
यसैबीच, स्पेसएक्सका एलन मस्कसहित प्रविधि क्षेत्रका केही नेताहरूले जेन्सेन ह्वाङलाई एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुनःस्थापित गर्न समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
तर, कम्पनीको आन्तरिक अनुसन्धान जारी रहेकाले ह्वाङ पुनः नेतृत्वमा फर्किने सम्भावना निकै कम रहेको बीबीसीले जनाएको छ । फाइनान्सियल टाइम्समा प्रकाशित उनको सम्भावित पुनरागमनसम्बन्धी समाचारबारे ह्वाङका प्रतिनिधिले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij