भर्जिनिया, अमेरिका। नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतमा ममताको शव टुक्र्याएको स्वीकार गरेका छन्। बिहीबारको सुनुवाइमा उनले ममतालाई घरको शयनकक्षमा मृत अवस्थामा भेटेपछि शव टुक्र्याएको दाबी गरे।
नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग छ। अदालतमा उनले शव टुक्र्याएको स्वीकार गरेका हुन्।
भट्टले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुईँमा अचेत अवस्थामा भेटेको बयान दिए। उनले ममताको मुख र भुईँमा वान्ता देखेको र त्यसमा ‘सेलफोस’ भनिने विषादीका अवशेष रहेको दाबी गरे। ममताको होस फर्काउन सीपीआर दिएको र त्यसपछि शव बाथरुममा लगेको पनि उनले अदालतलाई बताए।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काममा नआएपछि प्रहरीले अनुसन्धान थालेको थियो। नरेशले सुरुमा ममतालाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। उनले अगस्ट ५ मा प्रहरीमा ममता बेपत्ता भएको उजुरी दर्ता गराए। ममताका परिवार र साथीहरूले भने उनी आफ्नी सानी छोरीलाई छाडेर नजाने बताएका थिए।
अनुसन्धानका क्रममा प्रहरीले घरको शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको थियो। कपाल अड्किएको विद्युतीय आरा पनि बरामद गरेको प्रहरीले जनाएको छ। नरेश अगस्ट २२, २०२४ मा पक्राउ परेयता हिरासतमा छन्। ममताको शव अझै फेला परेको छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij