२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

रुससँगको तनाव नबढाउन युरोपेली राष्ट्रलाई पेन्टागनको सुझाव

रुससँगको तनाव नबढाउन युरोपेली राष्ट्रलाई पेन्टागनको सुझाव

रोयटर्स । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीहरूले रुसबाट उत्पन्न सुरक्षा चुनौतीबारे सार्वजनिक अभिव्यक्ति संयमित राख्न नेटोका केही युरोपेली सदस्य राष्ट्रलाई आग्रह गरेका छन् ।

पछिल्ला केही सातायता पेन्टागनका अधिकारीहरूले लिथुआनिया, लाट्भिया र इस्टोनियासहितका देशलाई रुसको खतराबारे सार्वजनिक टिप्पणी गर्दा संयम अपनाउन सन्देश दिएका हुन् ।

युरोपेली नेताहरू तथा अधिकारीका केही अभिव्यक्तिले महादेशको सुरक्षालाई कमजोर बनाएको अमेरिकी पक्षको तर्क रहेको स्रोतहरूले बताएका छन् । द्विपक्षीय भेटवार्ताका क्रममा यस्तो आग्रह गरिएको भए पनि अन्य युरोपेली सरकारलाई पनि यस्तै सन्देश दिइएको थियो वा थिएन भन्ने स्पष्ट भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन युद्ध अन्त्यका लागि वार्तामार्फत समाधान खोज्ने प्रयास पुनः अघि बढाइरहेका बेला पेन्टागनको यस्तो आग्रह आएको हो । युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ ।

अमेरिकी प्रशासनको पछिल्लो पहलमा रुसमाथिका प्रतिबन्ध खुकुलो पार्नेजस्ता प्रोत्साहन तथा रुसी ऊर्जा पूर्वाधारमाथि युक्रेनले गरिरहेका आक्रमण रोक्न दबाब दिने रणनीति समेटिएको छ ।

पेन्टागनका एक अधिकारीले यस विषयमा प्रतिक्रिया दिँदै सहयोगी राष्ट्रहरूबीच हुने निजी कुराकानीबारे टिप्पणी नगर्ने बताएका छन् ।

स्रोतका अनुसार युरोपेली नेताहरूले रुसलाई कमजोर अवस्थामा पुगेको र युक्रेनमाथिको आक्रमण सुस्त हुँदै जाँदा उसले झन् निराशाजनक कदम चालिरहेको टिप्पणी गरेका थिए । यस्ता अभिव्यक्तिले अमेरिकी अधिकारीको ध्यान खिचेको बताइएको छ ।

पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले पनि युरोपमा अमेरिकी सैनिकको उपस्थितिबारे भइरहेको समीक्षाका क्रममा उक्त सन्देश प्रवाह गरेका थिए । यद्यपि, यसमा संलग्न अन्य अमेरिकी अधिकारीबारे स्पष्ट हुन सकेको छैन ।

यस विषयमा जानकारी राख्ने तीन युरोपेली अधिकारी र एक अमेरिकी अधिकारीले यस्तो आग्रह टकरावपूर्ण शैलीमा नभई कूटनीतिक संवादका क्रममा गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij