२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

युक्रेनको डिनिप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

युक्रेनको डिनिप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । मध्य युक्रेनको डिनिप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा बिहीबार बिहान रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। रेल चढ्न प्रतीक्षारत यात्रुहरूलाई लक्षित गरी भएको आक्रमणमा अन्य १० जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार देशका विभिन्न स्थानमा भएका रुसी आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ। उत्तरी सहर चेर्निहिभमा मारिनेमा १५ वर्षका दुई किशोरी पनि छन्। त्यस्तै, पोल्टाभा क्षेत्रमा आवासीय भवनमाथि भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

डिनिप्रोको घटनास्थलका दृश्यमा रेल्वे प्लेटफर्ममा घाइते र मृतकहरू छरिएको देखिएको छ। घाइतेलाई उपचारका लागि लगिएको अस्पतालका प्रमुखका अनुसार उनीहरूमध्ये धेरैलाई छर्राले लागेको छ भने चार जनाको आकस्मिक शल्यक्रिया गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई सर्वसाधारणमाथि गरिएको सुनियोजित हमला भन्दै रुसमाथि थप दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै रुसमाथि दबाब बढाउनुपर्ने बताएकी छन्।

दक्षिणी खेरसोन क्षेत्रमा रुसी नियन्त्रणमा रहेको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन मंगलबारदेखि रुस र युक्रेनबिच अस्थायी युद्धविराम लागू छ। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको उक्त युद्धविराम सोही क्षेत्रका लागि मात्र लागू गरिएको हो। त्यहाँ हजारौँ मानिस विद्युत्, खाद्यान्न र स्वच्छ पानीको अभावमा फसेका छन्। युद्धविराम नोभेम्बर १ को राति १०ः५९ बजेसम्म कायम रहने बताइएको छ।

यसैबीच, बिहीबार राति रुसले युक्रेनको राजधानी किएभमा पनि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको किएभका मेयरले बताएका छन्। जेलेन्स्कीले रुसले थप आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका थिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार जापोरिजिया आणविक ऊर्जा केन्द्रका एक कर्मचारी पनि बिहीबार ड्रोन आक्रमणमा मारिएका छन्।

युक्रेनमा पछिल्लो समय रुसी आक्रमण तीव्र भइरहेका बेला त्यहाँ हवाई प्रतिरक्षाका लागि आवश्यक क्षेप्यास्त्रको अभाव देखिएको छ। रुसले भने सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij