२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

आन्ध्र प्रदेशमा चक्रवात अर्नबको प्रहार, तीन जनाको मृत्यु, ओडिशामा हजारौँ आश्रयस्थल तयार

आन्ध्र प्रदेशमा चक्रवात अर्नबको प्रहार, तीन जनाको मृत्यु, ओडिशामा हजारौँ आश्रयस्थल तयार

नयाँदिल्ली । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको छ। चक्रवातका कारण तीव्र हावाहुरी चल्दा रुख तथा विद्युत्का पोल ढलेका छन् भने विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातका कारण हावाको अधिकतम गति प्रतिघण्टा १३५ किलोमिटरसम्म पुगेको थियो। हावाको झोक्का भने प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको अधिकारीहरूले बताएका छन्।
भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातको जमिनमा प्रवेश गर्ने प्रक्रिया पूरा भएको छ। चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र पार गर्दै नरसापुरबाट करिब २० किलोमिटर पूर्व–उत्तरपूर्वमा जमिनमा प्रवेश गरेको विभागले जनाएको छ।

चक्रवातको प्रभावसँगै आन्ध्र प्रदेश, ओडिशा र आसपासका क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ। सम्भावित क्षति न्यूनीकरण तथा उद्धारका लागि केन्द्र र सम्बन्धित राज्यका विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा सरकारी कर्मचारीले ढलेका रुख र अन्य अवरोध हटाउँदै विद्युत् सेवा तथा यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले बुधबार प्रशासनले समयमै सावधानीका उपाय अपनाएका कारण मानवीय क्षति हुन नदिन सहयोग पुगेको बताएका थिए। उनले जिल्ला अधिकारी तथा अन्य गरी करिब ३२ हजार कर्मचारीसँग टेलिकन्फरेन्स गर्दै प्रभावित क्षेत्रमा सम्पत्तिको क्षति कम गर्न र जनजीवन सामान्य बनाउन निर्देशन दिएका छन्।

यता, ओडिशामा चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ३१३ वटा उद्धार तथा विपद् प्रतिकार्य टोली परिचालन गरिएको छ। राज्यमा २ हजार ३७ वटा आश्रयस्थल तयारी अवस्थामा राखिएको राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले बताएका छन्। उनले भुवनेश्वरस्थित राज्य आपत्कालीन सञ्चालन केन्द्रमा वरिष्ठ अधिकारीहरूसँग बैठक गरी तयारी तथा सावधानीका उपायबारे समीक्षा गरेका थिए।

चक्रवातको प्रभाव झारखण्डमा समेत देखिएको छ। राजधानी राँचीसहित राज्यका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। मौसम विज्ञान विभागले झारखण्डका नौ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij