काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक संजालमार्फत महामन्त्री पौडेलले नागरिकलाई धरपकड गरेर पछि छाड्ने सरकारको रवैयाको समर्थन गर्न नसकिने बताएका हुन्। उनले गलत निर्णय सच्याउनुको सट्टा प्रश्न उठाउने नागरिकलाई तर्साउने काम नगर्न सरकारलाई सुझाव दिएका छन्।
लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै पौडेलले विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत ध्यान दिनुपर्ने बताएका छन्।
उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै ती प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। प्रश्नहरूको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने उनको भनाइ छ।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पौडेलले राति–राति जाग्ने अहंकारलाई शासन नभई सनकको संज्ञा दिएका छन्। उनले गलत निर्णय सच्याउने साहस देखाउन र प्रश्न उठाउने नागरिकलाई तर्साउने काम बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij