२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

भ्रष्टाचारविरोधी अभियान तीव्र बनाउने रणनीतिमा सी, पार्टी बैठक सुरु

भ्रष्टाचारविरोधी अभियान तीव्र बनाउने रणनीतिमा सी, पार्टी बैठक सुरु

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गरेका छन् । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको सम्भावित फेरबदलअघि सुरु भएको बैठकलाई चीनको भावी राजनीतिक दिशा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

पाँचौँ पूर्ण अधिवेशन भनिने बैठकमा सत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बैठकमा पार्टीको अनुशासन र स्वशासन सुदृढ गर्ने रणनीतिक योजनासहितको मस्यौदा निर्णय प्रस्तुत गरेका छन् ।

बन्द कोठामा कडा सुरक्षाबीच भइरहेको बैठकका विस्तृत निर्णय बिहीबार बैठक सकिएपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ । आगामी वर्ष हुने पार्टी महाधिवेशनमा ७३ वर्षीय सीले ऐतिहासिक चौथो कार्यकाल सुनिश्चित गर्ने र नेतृत्वमा फेरबदल गर्ने सम्भावना रहेकाले बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

सीले १४ वर्षदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् । यस क्रममा केन्द्रीय समितिका सदस्यसहित हजारौँ अधिकारी कारबाहीमा परेका छन् । तर, आफ्ना निर्देशन कार्यान्वयन नगर्ने तथा पार्टीप्रति पूर्ण वफादार नहुने अधिकारीप्रति उनी असन्तुष्ट रहेको सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीले देखाएको छ ।

यस वर्षको बैठकमा केन्द्रीय समितिका आठ स्थान रिक्त छन् भने अन्य १५ सदस्य अनुसन्धानमा रहेकाले पद गुमाउने जोखिममा छन् । सीको अभियानले सेनालाई समेत प्रभावित पारेको छ । केन्द्रीय सैन्य आयोगका सात सदस्यमध्ये पाँच जना पदबाट हटाइएका छन् । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसार सन् २०२२ मा केन्द्रीय समितिमा नियुक्त ४४ सैन्य सदस्यमध्ये दुई जना मात्र कारबाहीमा नपरेको वा सम्पर्कविहीन नभएको अवस्था छ ।

विश्लेषकहरूका अनुसार सीले थप निगरानी र कडा नियममार्फत पार्टीका अधिकारीको कार्यक्षमता तथा वफादारी बढाउन खोजेका छन् । बैठकले केन्द्रीय सैन्य आयोगमा नयाँ सदस्य नियुक्त गर्ने, आगामी वर्षको महाधिवेशनसम्म नियुक्ति स्थगित गर्ने वा सेनामाथि पार्टीको नियन्त्रण पुनर्गठन गर्ने विकल्पमध्ये कुनै निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

चीनको सुस्त घरेलु खर्च, लामो समयदेखि सङ्कटमा रहेको घरजग्गा क्षेत्र र अमेरिकासँगको तनावपूर्ण आर्थिक तथा राजनीतिक सम्बन्धका बीच बैठक सुरु भएको हो । यी चुनौतीको सामना गर्न चीनको नेतृत्वले कस्तो नीति अपनाउँछ भन्ने विषयमा पनि बैठकको निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij