रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल–सयदलाई मुस्लिम अतिवादीसँग जोड्दै आफ्नो अभिव्यक्तिलाई थप आक्रामक बनाएका छन् ।
मिशिगनको पोर्ट हुरोनमा आयोजित चुनावी सभामा उनले एल–सयदलाई सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणका आक्रमणकारीसँग तुलना गरेका हुन्।
ट्रम्पले डेमोक्रेटिक पार्टीले अमेरिकाविरोधी हिंसात्मक आतंकवादीलाई देशमा प्रवेश गर्न दिने आरोपसमेत लगाए।
‘म जिहादी र मुस्लिम ब्रदरहुडका सदस्यलाई अमेरिकी सिनेटर बन्नबाट रोक्न यहाँ आएको हुँ,’ ट्रम्पले सभामा भने । उनले एल–सयद निर्वाचित भए अमेरिकी संसद्मा अतिवादी प्रवेश गर्ने दाबी गर्दै मतदातालाई उनीविरुद्ध उभिन आग्रह गरे।
एल–सयद निर्वाचित भए उनी अमेरिकी सिनेटमा पुग्ने पहिलो मुस्लिम व्यक्ति हुनेछन्। ट्रम्पले उनलाई अमेरिकाविरोधी मुस्लिम कट्टरपन्थीका रूपमा चित्रण गर्दै आएका छन्।
आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा मिशिगनको सिनेट सिटका लागि रिपब्लिकन पार्टीका पूर्वप्रतिनिधि माइक रोजर्स र एल–सयदबीच प्रतिस्पर्धा हुँदैछ। उक्त सिटले सिनेटमा कुन पार्टीको नियन्त्रण रहने भन्ने निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
ट्रम्पले सन् २००१ को सेप्टेम्बर ११ मा अपहरणकारीविरुद्ध प्रतिरोध गरेका युनाइटेड एयरलाइन्सको उडान ९३ का यात्रु टोड बिमरको उदाहरण दिँदै एल–सयदलाई रोक्नुपर्ने बताए।
‘२५ वर्षपछि मिशिगनले पनि टोडले जस्तै उठेर लड्नुपर्छ, ताकि जिहादीलाई संसद्मा प्रवेश गर्नबाट रोक्न सकियोस्,’ ट्रम्पले भने। उनले एल–सयद निर्वाचित भए सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँच गराउनुपर्ने एकमात्र सिनेटर हुने टिप्पणीसमेत गरे।
एल–सयदले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्। आइतबार राति ग्रान्ड ¥यापिड्समा आयोजित कार्यक्रममा उनले ट्रम्पको अभिव्यक्तिमा विरोधाभास रहेको बताए।
‘अमेरिकी राष्ट्रपतिले मेरो नामलाई व्यक्तिगत रूपमा आपत्तिजनक ठान्नुहुन्छ भन्ने मैले बुझेको छु,’ एल–सयदले भने, ‘तर उहाँका ज्वाइँको निजी लगानी कम्पनीमा लगानी गर्ने साउदीहरू वा उहाँलाई चार करोड डलरभन्दा बढी मूल्यको निजी विमान उपहार दिने कतारका विषयमा उहाँलाई त्यति आपत्ति देखिँदैन।’
ट्रम्पका ज्वाइँ जारेड कुश्नरको लगानी कम्पनी ‘एफिनिटी पार्टनर्स’ले साउदी सरकारसँग सम्बन्धित निकायबाट अर्बौं डलर लगानी प्राप्त गरेको छ। कतारले पनि ट्रम्पलाई बोइङ ७४७ विमान उपहार दिएको समाचारमा उल्लेख छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij