२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

कानुनमा सुधार नगरी भाटा लिएर यो ठेकेदार बदमास हो भन्न थालिए दुर्घटना निम्तिन्छः सभापति थापा

कानुनमा सुधार नगरी भाटा लिएर यो ठेकेदार बदमास हो भन्न थालिए दुर्घटना निम्तिन्छः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून सुधार नगरी चाबुकले तह लगाउँछु भन्यो भने अर्को दुर्घटना निम्तने बताएका छन् ।

सर्लाहीमा शनिबार आयोजित कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै सभापति थापाले विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बताएका हुन् । बालेनले धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको भन्दै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए । उनले समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।

सभापति थापाले भने,‘हामीले अहिले छलफलमा बहसमा सुनिरहेका छौँ, हामी रुखमा लगेर बाँधिदिन्छौं, काम गरेन भने उल्टो झुण्ड्याइदिन्छु, हामीले सुनिरहेको ल्याङ्वेजहरु, सोचहरु । भाटा लिएर यो ठेकेदार बदमास हो । उसका पक्षमा बहस पैरवी गर्ने वकिल पनि फटाहा हो, अनि फैसला गर्ने न्यायाधीश पनि फटाहा हो । त्यो कानुन बनाउने सांसद पनि फटाहा हो, त्यसैले ती सबै फटाहा हुन् मेरो हातमा चाबुक छ म मात्रै राम्रो हो । म चाबुकले सबैलाई तह लाउँछु भन्ने चिन्तनले सुधार गर्छु भन्यो भनेपनि दुर्घटना हुन्छ । देशलाई चाहिएको सुधार हो, विकास हो । तर के को मूल्यमा होइन भने विधिको शासनको मूल्यमा होइन, लोकतन्त्रको मूल्यमा होइन, के गरेर होइन भने लहडमा होइन ।’

उनले सुधार धेरै महंगो हुने बताए । उनले भने,‘सुधारमा ध्यान नदिई सुधार मात्र गर्छु भन्यो भने दुर्घटना हुन्छ । यहाँबाट काठमाडौं समयमै पुर्याउँछु भन्नका निम्ति गतिमा पनि हाँक्नुपर्छ र दायाँबायाँ पनि के भइरहेको छ भनेर हेर्नुपर्छ । अर्कोतिरबाट पनि गाडी तीव्र गतिमा गाडी आइरहेको छ भन्ने ख्याल गर्नुपर्छ ।’ उनले नेपाली कांग्रेसले यसपटक सुधारको ग्यारेन्टी गर्ने बताए । उनले सुधारका लागि कम्तीमा पनि ४१ वटा कानुनमा सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij