काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त र तोकिएका शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार कुल लगानी योग्य रकम ७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। लगानी रकममध्ये “क” वर्गका वाणिज्य बैंकका लागि ५ अर्ब ८८ करोड रुपैयाँ, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि १ अर्ब १० करोड २५ लाख रुपैयाँ, र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ३६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।
यो रकम २०२६ जनवरी २१ देखि २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा राखिनेछ । ब्याजदर प्रस्ताव राष्ट्र बैंकले तोकेको फारम भरी माघ २ गते बेलुका ७ बजेसम्म पेश गर्नुपर्नेछ ।
प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, न्यूनतम पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा बढी नहुने तथा खुद निष्क्रिय कर्जा ३ प्रतिशतभित्र रहेको हुनुपर्ने शर्त राखिएको छ ।
साथै, खुद तरल सम्पत्ति अनुपात, कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुका साथै पछिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्नेछ । शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणा गरिएको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने लगायतका शर्त पनि तोकिएको छ।
राष्ट्र बैंकले प्रस्ताव गरिएको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने स्पष्ट गरेको छ । उपदान तथा पेन्सन कोषको ठूलो रकम निक्षेपमा लगानी हुन लागेकाले यसले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन र ब्याजदर प्रतिस्पर्धामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij