हुम्ला । a खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।
गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् ।
गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । गाउँपालिकाले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गर्दा औषधि अभाव भएको हो ।
दशैँअघि पनि औषधि अभाव हुँदा पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो । दशैँमा खरिद गरेको पनि सकिएर पुनः औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए । गाउँपालिकामा सबै औषधिको अभाव नभए पनि केही औषधिको अभाव भएको गाउँपालिका संयोजक शाहीले बताए ।
यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताए । तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिदका लागि टेण्डर आह्वान भएर स्वीकृत भएको सकेको बताए । गाउँपालिकामा एक हप्ता माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाँडो पुर्याउन ताकेता लगाउने अधिकृत शाहीले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij