काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उनले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका हुन् ।
सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणको काममा अघि बढिरहेको बताए । सभापति देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताए । सभापति देउवाले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए ।
‘आर्थिक रूपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ । दलित, महिलाका समस्या समाधान गरेर उनीहरूलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो,’ उनले भने ।
कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने सिटौलाको भनाइ छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij