२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन देउवाको निर्देशन

स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इञ्जिनियर भेला’लाई शनिबार सम्बोधन गर्दै उनले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन लाग्न आग्रह गरे ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताए ।

‘पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,’उनले भने,’यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ ।’

कार्यक्रममा सिडेनका अध्यक्ष इञ्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इञ्जिनियर सुवासचन्द्र बराललगायतले इञ्जिनियरबिना देशको विकास सम्भव नभएको बताए ।

उनीहरूले विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इञ्जिनियरहरू मारमा परेको वक्ताहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij