काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन् ।
राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा सोमबार अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताएका हुन् ।
त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी थिए । उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले पाँच वर्षअघि मेलबर्नमा स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिएका थिए । अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij