२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सहकारी ठगीमा मेरो कुनै संलग्नता छैनः गृहमन्त्री लामिछाने

सहकारी ठगीमा मेरो कुनै संलग्नता छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो कतै संलग्नता नरहेको बताएका हुन् ।

उनले भने,‘सहकारीमा जहाँ मेरो नाम देखिएको छ, त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर छैन। न ल्याप्चे छ। न मैले निवेदन दिएको छु। मेरो सामान्य केवाईसी भरिएको छैन । त्यहाँ केही पनि भरिएको छैन। यो मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा म प्रतिवादी छैन। बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन ।’

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको भन्दै अहिले प्रभावित हुने काम नहुने बताए । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताए ।

उनले भने,’हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ । हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ ।’

त्यस्तै उनले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिएका छन् । उनले भने, ‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij