रुपन्देही । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
शनिबार भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्तराष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ ।’ उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्याए । साथै त्यहाँ मारिएका नेपालीका आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयास पनि भइरहेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा मन्त्री साउदले विप्रेषण आयबाट मात्र देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नसकिने बताए । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वासको वातावरण बनाएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij