२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

चार वर्षमा १२ लाख नयाँ सदस्य थपेर कांग्रेसलाई देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छः महामन्त्री थापा

चार वर्षमा १२ लाख नयाँ सदस्य थपेर कांग्रेसलाई देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छः महामन्त्री थापा

 

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् । कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे बिहीबार समापन गर्दै महामन्त्री थापाले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने बताए । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन ।” उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भने । बदलिँदो कांग्रेस र बलियो कांगेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उनको भनाइ थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले देशमा सुशासन र समुन्नतिलाई अगाडि बढाउन कांग्रेस एक ढिक्का भएको सन्देश दिएको बताए। “महासमिति बैठकमा देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका समस्यालाई देख्ने र सुन्ने मौका पायौँ । यसको समाधानका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ”, उनले भने ।

महामन्त्री शर्माले मुलुकलाई नेतृत्व गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै आगामी दिनमा पार्टीबाट उठाउने उम्मेद्वार भूगोलबाट छान्ने प्रवृत्तिलाई अगाडि बढाउनुपर्ने बताए । महासमिति बैठकबाट पारित कुरालाई पार्टीले अक्षरश पालना गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीलाई बलियो बनाउनका लागि देशभरका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । “समावेशी, समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकाले आज संसद्मा महिला, मधेसी, मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । यो कांग्रेसको देन हो”, उनले भने ।

कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यान्वयन गरेर अगाडि बढ्न सके पार्टी झन् बलियो भएर अगाडि बढ्ने बताए । “कांगेस एकढिक्का भयो भने कसैले हराउन सक्दैन”, उनले भने ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले पार्टीभित्र उठेका महिला सहभागितालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महासमिति बैठकले पार्टीलाई नविन दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे । “कांग्रेसले कसैलाई काखा र कसैलाई पाखा लगाएर हिँड्दैन । जनतालाई केन्द्रमा राखेर अगाडि बढ्छ”, उनले भने ।

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बैठकबाट प्राप्त सुझावलाई समेटेर पार्टीको विधानलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।
कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले अन्य पार्टीसँग समय र परिस्थितिअनुसार गठबन्धन गर्नुपर्ने बताए । उनले पार्टीलाई तीन वर्षपछि एक्लै लड्ने पार्टी बनाउन सबै लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij