काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार बसेको बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक तथा विस्तार गरिसक्ने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने निर्णय गरेको बैठकले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तारलगायतको कामको प्रकृतिका आधारमा १० जिल्लालाई सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्गठन सुदृढिकरणको अभियान दुई महिना (चैत २५ गते) सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । महाधिवेशनका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij